राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १६ : ३४
राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदहरूले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि सत्ता पक्षका दलहरुले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्ष दलले असहमति प्रकट गरेको हो । सभाको बैठकमा बोल्दै तुलसाकुमारी दाहालले सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ मा रहेको रासायनिक मल कारखाना खोल्ने बहुवर्षीय योजना तयार गरिएको भन्ने शब्द उल्लेख गरेको भन्दै उक्त शब्द हटाएर रासायनिक मलको समयमा व्यवस्थापन गरिनेछ भन्नेकुरा उल्लेख हुनुपर्ने संशोधन दर्ता गरेको बताइन् ।

उनले बुँदा नम्बर ११७ मा राष्ट्रपति महिला उत्थान कार्यक्रम समावेश नगरेको भन्दै बजेटमा भने उक्त कार्यक्रम समावेश गर्न आग्रह गरिन् । उनले नीति तथा कार्यक्रमले सिद्धान्त र प्राथमिकतालाई पक्रन नसकेको बताइन् ।राष्ट्रिय सभा सदस्य एवं संशोधन कर्ता विमला घिमिरेले बुँदा नम्बर ३६ मा कृषि उत्पादनमा वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गर्न नबुझिने र गर्न नसकिने खालको वाक्यांश रहेको भन्दै त्यस शब्द हटाएर र खेती गर्न चाहने कृषकका लागि भूमि बैंक स्थापना गरी त्यसमार्फत कृषकलाई जमिन उपलब्ध गराउने कुरा थप्नुपर्ने बताइन् ।

उनले बुँदा नम्बर ३१ मा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी गरी भन्ने शब्द राखिएकाले त्यसलाई हटाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताइन् ।राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले निजगढ विमानस्थल बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले विराटनगरको विमानस्थललाई पनि बजेटमा समावेश गर्न आग्रह गरे । उनले  विराटनगरको जुट मिल, पूर्वाञ्चल विश्वविद्यालयको ३ सय बेडको अस्पताल बनाउने कुरा बजेटमा जोड्न आवश्यक रहेको बताए ।बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कुरालाई नयाँ नारा दिएर ल्याइएको बताए ।

उनले आफ्नो गाउँ आफैँ बनाउँ भन्ने यसअघिको कार्यक्रमको ठाउँमा आफ्नो विद्यालय आफैँ बनाउँ जस्ता नाराहरु मात्रै राखिएको बताए । उनले प्रधानमन्त्री रोजगार, प्रधानमन्त्री कृषि, विज्ञान कार्यक्रम हटाउन नहुने बताए ।  बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले सरकारले प्रस्तुत थरेको नीति तथा कार्यक्रम जनमुखी रहेको बताए ।  उनले समतामुलक र समाजवादउन्मुख भन्ने संविधानले व्यवस्था गरेको बाटोलाई समातेर नै नीति तथा कार्यक्रम ल्याइएको बताए । राष्ट्रिय सभा सदस्य देवले देशमै उत्पादित वस्तुको समर्थन मूल्य तोक्ने लगायतका केही विषयहरु नयाँ र स्वागतयोग्य रहेको उल्लेख गरे ।