प्रधानमन्त्री प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १० : ५८
प्रधानमन्त्री प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ । प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका  हुन् । आइतबार मुख्यमन्त्री शर्मासहित आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न पुगेका थिए । 

 

कर्णाली विकास निर्माणमा पछि परेकाले आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्न भेटघाट गरिएको शर्माले बताए । ‘राजनीतिक जटिलता भएर फुकाउन प्रधानमन्त्रीज्यूलाई भेटेका होइनौं । कर्णालीमा सबै ठिकठाक चलिराखेको छ’ शर्माले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा न्याय गर्नुपर्छ र ठुला आयोजनामा बजेट विनियोजन गर्नुपर्छ भन्ने माग छ ।’

 

प्रधानमन्त्रीलाई कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको सवालमा छलफल भएको शर्माले बताए ।  यस्तै कर्णालीका सबै जिल्लामा बिजुली पुर्याउनेदेखि  राज्यले नै उद्योग चलाउनुपर्ने विषयमा छलफल भएको बताए । मुख्यमन्त्री शर्मा सहितको टोली केहीदिन काठमाडौंमै बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस