खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारकाे नीति छ : कृषिमन्त्री भुसाल

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १९ : ४७
खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारकाे नीति छ :  कृषिमन्त्री भुसाल

काठमाडाैँ । सरकारले खाद्यान्न  आयात प्रतिस्थापन गर्ने नीति लिने कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले बताएका छन् । कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताउँदै मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताए ।

कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन बढाउन सकिने उनको भनाइ छ । ‘पहिले खाद्यान्न निर्यात गर्थ्याैँ, अहिले खाद्यान्न आयात गर्छाैं । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारले लिएकाे छ,’ उनले भने ।

भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती तथा सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।

मन्त्री भुसालले भने, ‘बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तवरको खेती गरिनेछ । पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायीककरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यता हाे ।’

प्रतिक्रिया दिनुहोस