आर्मीका नरेन्द्रसिंह रावलले जिते विराट–बर्जु हाफ म्याराथनको उपाधि

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १३ : ४६
आर्मीका नरेन्द्रसिंह रावलले जिते विराट–बर्जु हाफ म्याराथनको उपाधि

विराटनगर । मोरङ र सुनसरीमा सञ्चालित विराट-बर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका खेलाडी नरेन्द्रसिंह रावलले जितेका छन् ।कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको यो प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

 

विराट राजाको दरबारस्थल विराटनगरको भेडियारीबाट सुनसरीको बर्जु तालसम्म सञ्चालित दौड नेपाली सेनाकै सुशीलकुमार शाहीले १ घण्टा १८ मिनेटमा पूरा गरेर दोस्रो भए । त्यस्तै मोहनदेव जोशीले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरेर तेस्रो,  नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पूरा गरेर चौथो भए । नेपाली सेनाकै श्रीकाश राई पाँचौं र सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौं भए ।प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, दोस्रो हुने शाहीले ७५ हजार र तेस्रो हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

 

विराट-बर्जु हाफ म्याराथन अन्तर्गत नै महिलातर्फको ५ किलोमिटर दौडमा नेपाल प्रहरीकी रेखा विष्ट १९ मिनेट ४ सेकेण्डमा दूरी पूरा गरेर पहिलो भइन् । सशस्त्र प्रहरी बलकी सीमा थारु चौधरी १९ मिनेट ११ सेकेण्डमा दूरी पार गरेर दोस्रो भइन् भने नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो र विराटनगरकी अंशु मण्डल चौथो भए ।महिलातर्फ पहिलो भएकी रेखा विष्टले २५ हजार, दोस्रो हुने चौधरीले २० हजार र तेस्रो हुने कुमालले १५ हजार रुपैयाँ पाए । खेलाडीलाई कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार प्रदान गरे ।खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस