आर्मी र खुमलटारबीचको खेल बराबरीमा सकियो

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १८ : ३३
आर्मी र खुमलटारबीचको खेल बराबरीमा सकियो

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो ।  खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा आर्मीका जगजितले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३५औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५१औँ मिनेटमा आर्मीका नवयुगले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा ल्याए । 

त्यसपछि खेलको ७५औँ मिनेटमा खुमलटारका स्टेफेन समिरले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए । यसपछि खेलमा गोल हुन सकेन र खेल दुई–दुई गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै आर्मीले १९ खेलमा २६ अङ्क जोडेको छ भने समान खेल खेलको खुमलटारले १८ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस