दक्षिण कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, ११ : २५
दक्षिण कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी

काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललितपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहेको भए पनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड वितरण गरेको पाइएको हो । 

 

सिमकार्ड वितरण निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । उनले अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताए । 

 

उनले अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए ।  

 

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यालय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरू बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि बताए । उनले त्यस्तै ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस