बुटवल।नक्कली मह बनाएर बिक्री गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहार वीरपुरका ५२ वर्षीय मनिस धामी, ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेका देवीनगर प्रहरी चौकीका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । उनीहरूको साथबाट चार क्विन्टल महसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
नक्कली मह उत्पादनका लागि कारखाना सञ्चालन गरेको गोप्य सूचनाका आधारमा गए राति स्थानीयको पहलमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बुटवल–११ सृजनानगरमा ४ वटा घर भाडामा लिएर उनीहरूले मह बनाउने गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
देवीनगर प्रहरी चौकीका प्रमुख न्यौपाने नेतृत्वको टोलीले ४ वटा घरमा राखिएको विभिन्न सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरूले उत्पादन गरेको मह प्रतिकिलो १ हजार ६०० रूपैयाँमा बिक्री गर्ने गरेका थिए । बरामद भएको केही मह बुटवल–११ स्थित सिर्जना नगरमा नष्ट गरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ ।
उनीहरूले कारखाना नै स्थापना गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने नक्कली मह उत्पादन गर्दै आएका प्रहरीले जनाएको छ ।बुटवलका अन्य ठाउँमा पनि नक्कली मह तयार गरेर बिक्री गरिएको आशंका गर्दै प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ ।महको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमूना पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १४ : ५२
लेखकबाट थप