चितवन । भरतपुर महानगरपालिकाको प्रमुखका रुपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी रेनु दाहालले पहिलो कार्यकालमा पूरा गर्न नसकेका केही योजनालाई यो कार्यकालमा पूरा गर्ने संकल्प लिएकी छन् । दोस्रो कार्यकालको पहिलो वर्ष पूरा गर्दासम्म तीमध्ये केही योजना अघि बढिसकेको उनको भनाइ छ ।
उनले अब स्मार्ट सिटी बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताइन् । उनले भरतपुरवासीलाई खुसी र सुखी बनाउने दिशामा आफूले काम गर्ने प्रस्ट पारिन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
भरतपुर महानगरको प्रमुखका रुपमा दोस्रो कार्यकालको एक वर्ष पूरा भइसकेको छ । यो एक वर्षलाई कसरी समीक्षा गर्नु भएको छ ?
यो एक वर्ष पनि विशेष रह्यो । भरतपुर महानगर प्रमुखका रुपमा दोस्रो कार्यकाल सम्हाल्न आएपछि पदवालीका क्रममा दुई दुरगामी निर्णय ग¥यौं । भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क जीवन बीमा र ७ युनिटसम्म पानी खपत गर्ने विपन्नलाई निःशुल्क खानेपानी । भरतपुर अहिले निर्माणको चरणमा छ । पहिलो कार्यकालमा सुरु भएका आयोजनालाई निरन्तरता र थप नयाँ आयोजना सुरु भएका छन् ।
हाम्रो ध्यान भरतपुरलाई दिगो ढङ्गबाट सन्तुलित विकास गर्नेतर्फ केन्द्रित छ । भरतपुरमा पूर्वाधार विकासमात्र भएको छैन, यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा त्यही अनुपातमा काम अगाडि बढाएका छौं । यो एक वर्षमा भरतपुरमा रोकिएका कामलाई गति दिन सक्यौं । भरतपुर महानगरपालिका सहरी पूर्वाधार विकासमा ७५३ मध्ये उत्कृष्ट, वित्त आयोगको मूल्याङ्कनमा उत्कृष्ट, खेलकुद क्षेत्र उत्कृष्ट, बेरुजु कम र आर्थिक पारदर्शितामा अब्बल छ । यही नतिजाबाटै थाहा हुन्छ कि भरतपुरले विकासमा धेरै फड्को मारेको छ । यसलाई देशकै हेर्न लायक स्मार्ट सिटी बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।
भरतपुरको मेयरका रुपमा के के चुनौती देख्नु भएको छ ?
भरतपुरमा सम्भावना र चुनौती दुवै छन् । देशकै मध्य भागमा रहेको भरतपुरमा धेरै मनोविज्ञान भएका मानिसहरुको बसोबास छ । त्यही मनोविज्ञान र भावनालाई समेटेर लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौं । हामीलाई वर्षातको समयमा नारायणी र राप्ती तटीय क्षेत्रका घर परिवारको चिन्ता हुने गर्दथ्यो, त्यो अहिले हटेर गएको छ । नारायणीमा ४ अर्बको तटबन्धको काम हुँदैछ । राप्तीमा पनि आगामी वर्षमा बजेट विनियोजन गरेर यो कामको सुरुवात गर्ने गरी तयारी गरिरहेका छौं ।
भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्ने गरी मास्टर प्लान (गुरुयोजना)अनुसार अगाडि बढेका छौं । महानगरको आफ्नै स्रोतको कमी छ । विभिन्न जिल्लाबाट आएर यहाँ बसोबास गर्नेहरुको संख्या पनि उल्लेख्य छ । त्यसैले सबैको प्रतिनिधित्व गरेर, सबैको चाहना अनुसार काम गर्न चुनौतीपूर्ण छ । यसका बाबजुद पनि धेरै काम भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण किन अलपत्र परेको हो ?
क्रिकेट रङ्गशालाको बाँकी निर्माणको कार्य अगाडि बढाउन महानगरपालिको तर्फबाट संघीय सरकारलाई पहल गरिरहेका छौं । राष्ट्रिय खेलकुद परिषदले पुलचोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा आउने आर्थिक वर्षमा काम सुरु गर्छ । लगातारको प्रयासबाट धुमुर्स–सुन्तली फाउण्डेशनले लगाएको ऋणबारे टुङ्गो लगाउन समय लाग्यो । अब रङ्गशाला निर्माण हुने पक्का भएको छ । राष्ट्रिय खेलकुद परिषदले बहुवर्षीय ठेक्का अनुसार छिटै काम सुरु गर्ने निर्णय पनि भएको छ ।
भरतपुरको बाटो, पुलपुलेसा, सडक, फुटपाथ लगायत भौतिक पूर्वाधारसहितको आधुनिक सुविधा सम्पन्न सहरको निर्माण कहिलेसम्म पूरा हुन्छ ?
मैले यसअघि पनि भनेको थिएँ, अहिले भरतपुर निर्माणको चरणमा छ । यहाँ ठूला र फराकिलो बाटो निर्माण भइरहेका छन् । भरतपुरका मुख्य सडकहरु निर्माण भइसकेका छन् । अब भित्री, सहायक सडक कालोपत्रे गर्न बाँकी छ । यो ६ वर्षको अवधिमा करिब ७ सय किलोमिटर सडक कालोपत्रे भइसकेका छन् । सडकसँगै पुलपुलेसा पनि त्यही अनुपातमा निर्माण भएका छन् ।
नारायणी सिग्नेचर ब्रिज निर्माण हुँदैछ । अबको २ वर्षपछि सडक निर्माणको काम लगभग सकिन्छ । हाम्रो प्राथमिकता सडकपछि हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण र उत्पादनतर्फ छ । हामीले पहिलो कार्यकालमा जति पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका थियौं, अहिले भने उत्पादनलाई राखेका छौं । पूर्वाधारमा धेरै विकास भएको छ, अब हामी उत्पादन वृद्धि गर्ने गरी अगाडि बढेका छौं । महानगरको समग्र विकास गरेर आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने आधार पूरा हुँदै गएका छन् ।
महानगरको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नारायणी किनारमा फोहोर डम्पिङ गर्नुपर्ने अवस्था छ । फोहोर व्यवस्थापनको काम गर्न कोरियन कम्पनीसँग सम्झौता भए पनि किन कार्यान्वयन हुन नसकेको हो ?
हो, मेरो पहिलो कार्यकालमा अधुरो रहेका आयोजना पूरा गर्नुलाई नै आफ्नो दोस्रो कार्यकालको लक्ष्य बनाएकी छु । पहिलो कार्यकालमा अधुरो काम भनेको भरतपुर विमानस्थलको विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण र फोहरमैला ल्याण्डफिल साइट निर्माण हो । यीमध्ये दोस्रो कार्यकालको अहिलेसम्मको अवधिमा दुई वटा काम अगाडि बढेको छ । अब ल्याण्डफिल साइट निर्माण गर्ने काम बाँकी छ ।
कोरियन कम्पनीले कोभिडको कारण देखाउँदै सम्झौता अनुसार काम गरेन । संघीय सरकारसँग बहुवर्षीय रुपमा निर्माण गर्ने गरी बजेट माग गरेर भए पनि ल्याण्डफिल साइट निर्माण गर्ने संकल्प गरेका छौं । यो कार्यकालमा फोहोर व्यवस्थापनको कामले पूर्णता पाउँछ । अहिले हामी विस्तृत परियोजनाको डिजाइन गरिरहेका छौं ।
आर्थिक उपार्जनका योजना, जनताको दैनिकी र आयआर्जनसँग जोडिएको विषय छुटेको जस्तो देखिन्छ नि, यसलाई कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ ?
मलाई त्यस्तो लाग्दैन । हामीले उत्पादनमा जोड दिनु नै आफै स्वरोजगार हुनु हो । महानगरपालिकाले यस वर्षमात्रै २ हजार जनालाई निःशुल्क तालिम दिन लागेको छ । भरतपुरमा सन्तुलित विकाससँगै अबको आवश्यकता रोजगारी हो भन्ने निष्कर्षसहित आयआर्जनसँग जोडिएको कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौं । भरतपुरको ठूला निर्माण आयोजना निर्माण सम्पन्न भएसँगै प्रशस्त रोजगारी सिर्जना हुन्छ । जस्तै सिटी हल, रङ्गशाला, बहुउद्देश्यीय भवन, उद्योगग्राम, प्रदेशस्तरीय पार्क, नारायणी तटबन्ध लगायतका दर्जनौं आयोजना सम्पन्न भएसँगै हजारौंको संख्यामा रोजगारी सिर्जना हुँदैछ । त्यसैले अहिलेदेखि दक्ष जनशक्ति निर्माण गर्न निःशुल्क तालिम दिन लागेका छौं ।
कृषि र पशुपन्छीको क्षेत्रमा उत्पादनसँग जोडेर विशेष अनुदान उपलब्ध गराएका छौं । दुधमा प्रतिलिटर ३ रुपैयाँ नगद अनुदानले दुध उत्पादन र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । कृषिमा यान्त्रीकरण र आधुनिकीरणमा थुप्रै काम गरेका छौं । यसले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाको काम गरेको मैले पाएको छु ।
स्थानीय सरकार आफैंमा जनतासँग जोडिएको सरकार हो । प्रदेश र संघीय सरकारबाट कत्तिको समन्वय भएको पाउनु भएको छ ?
स्थानीय सरकारले जनताका सानोभन्दा सानो समस्या पनि बुझेको हुन्छ । र, सिंहदरबारको अधिकार गाउँगाउँसम्म पु¥याउने स्थानीय सरकारको काम कर्तव्य हो । त्यही अनुरुप हामीले जनतालाई कसरी खुसी र सुखी बनाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेका छौं । भरतपुरलाई सभ्य र सुसंस्कृत सहर निर्माण गर्ने उद्देश्य अनुरुप अगाडि बढेका छौं । भरतपुरमा विकास त पर्याप्त भएको छ, अब भरतपुरलाई खुसी र सुखी सहर बनाउने हाम्रो लक्ष्य हो ।
भरतपुरको राजस्व संकलनबाट यहाँको विकास गर्न सम्भव छैन । प्रदेश र संघीय सरकारसँग गरेको समन्वयका आधारमै भरतपुरले विकासमा फड्को मारेको हो । यसका लागि पहल र तत्परता आवश्यक पर्छ । जति चासो र चिन्ताको साथ काम गरिन्छ, त्यस अनुपातमा मात्र सफल हुन सकिन्छ । हामीले संघ र प्रदेश सरकारको समन्वय र सहकार्यबाट महत्त्वपूर्ण उपलब्धी हासिल गरेका छौं ।
एउटा स्थानीय सरकारले चाह्यो भने कति काम गर्न सक्ने रहेछ ? तपाई आफैले कस्तो महसुस गर्नुभयो ?
सबैभन्दा पहिला त काम गर्ने हुटहुटी हुनुप¥यो । ईच्छाशक्ति र निरन्तरताले कुनै पनि काममा सफलता पाइन्छ । जनताको दैनिकीसँग जोडिएको सरकार भएकाले स्थानीय तहका जनप्रतिनिधि दिनरात नभनी खट्नुपर्छ । काम गर्न त्यति सजिलो छैन । खल्तीबाट बजेट आउने पनि होइन । सबैभन्दा धेरै समर्पित हुन जरुरी हुन्छ । सिर्जनशिलता र भिजन पनि चाहिन्छ । उद्देश्य निश्चित गरेर अगाडि बढ्नुपर्छ । सुसभ्य र सुशासनको प्रत्याभूति हुने गरी हामीले बनाउने ऐन, कानुन, कार्यविधिअनुसार अगामी कार्यदिशा अगाडि बढ्छ । देशमा रहेका ७५३ स्थानीय सरकारको लागि एउटै कानुन छ । तर, महानगरपालिकालाई त्यही कानुनमा टेकेर अगाडि बढ्नचाहिँ गाह्रो भएकै छ । यो संशोधन गरी अधिकार क्षेत्र बढाउनुपर्छ । तबमात्र भनेको जसरी काम गर्न सकिन्छ ।
तपाई प्रधानमन्त्रीको छोरीसमेत भएकाले जति गर्न सक्नुपर्ने थियो त्यति भएन, अझै धेरै काम गर्नुपर्ने थियो भन्छन् नि, यो टिप्पणीलाई के भन्नुहुन्छ ?
त्यो होइन । भरतपुरमा ०७४ सालमा मुख्य बजारी क्षेत्रबाहेक अन्य क्षेत्रमा कालोपत्रे सडक थिएन । अहिले तपाईले हेर्नुभयो भने सबै वडामा कालोपत्रे भएका छन् । विद्यालयहरु परम्परागत ढङ्गबाट चलेका थिए । त्यसलाई हामीले सुधार ग¥यौं । तपाईले हेर्नुभयो भने यो ६ वर्षको अवधिमा ६० अर्बभन्दा बढी रकम भरतपुरमा ल्याउन सफल भएका छौं । भरतपुरमा सडक कालोपत्रे गर्न अब धेरै बाँकी छैन ।
तपाई भरतपुर महानगरको मेयरका रुपमा दोस्रो कार्यकालमा हुनुहुन्छ । यो कार्यकालपछि के गर्ने योजना बनाउनु भएको छ ?
जनप्रतिनिधि भनेको जनताको सेवक हो । सधै जनताको सेवामा समर्पित हुनेछु । जनताको चाहाना र भरतपुरको समग्र विकासको काम पूरा गर्नु मेरो यो कार्यकालको एकमात्र लक्ष्य हो । आगामी चुनावमा जनताले खोजे र पार्टीले निर्णय गरे कुनै पनि तहमा जनप्रतिनिधिका लागि तयार हुन्छु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर भ्रमण वर्ष : राप्ती नदीमा छाडिए २० वटा घडियाल गोही
सर्वसाधारणको लागि खुला हुँदै दियालो बंगला, सञ्चालनको जिम्मा भरतपुर महानगरलाई
भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह
मेयर रेनु दाहाल लन्डनमा ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्दै
भरतपुर महानगर प्रमुख दाहाललाई बेलायत जान मन्त्रिपरिषद्ले दियो अनुमति
आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास : प्रमुख दाहाल