कांग्रेस बैठकमा खाणमाथि निलम्बनबारे छलफल, भोलि निर्णय लिने

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, २० : ३५
कांग्रेस बैठकमा खाणमाथि निलम्बनबारे छलफल, भोलि निर्णय लिने

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठक खाणकाे पक्राउमा केन्द्रित थियो ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणकाे पक्राउपछिकाे पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए । 

बैठकमा उपसभापति धनराज गुरुङ,  महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्नेपर्नेमा जोड दिएका थिए । सहमहामन्त्री महेन्द्र यादवले भने खाणलाई षड्यन्त्र पूर्वका पक्राउ गरिएको भन्दै लाेकतन्त्रमाथि खतरा रहेको बताएका थिए । 

आजको बैठकले खाणबारे कुनै निर्णय भने नलिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितकाे बैठक बस्ने छ । एक पदाधिकारीले भने, 'आज छलफल भएको छ । भोलि पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठक बसेर निलम्बनबारे निर्णय हुन्छ ।' 

पार्टीको जिम्मेवारीबाट खाणलाई निलम्बन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको पक्षमा कांग्रेस उभिने ती पदाधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस