प्रतिनिधि सभाको शुन्य समय : कसले के बोले ?

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १३ : १३
प्रतिनिधि सभाको शुन्य समय : कसले के बोले ?

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गरे ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए ।

सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउनका लागि चलखेल भईरहेको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गरे।

उनले यो प्रकरणको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरिन् ।

उनले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गरिन् ।

सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस