जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १५ : ५७
जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

काठमाडौँ। सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभाबी वैदेशिक भ्रमणमा नजान भनेको हो । वर्तमान आर्थिक संवेदनशीलता तथा चालू आर्थिक वर्षको अन्तिम समयमा अत्यावश्यक र औचित्यपूर्ण अवस्थामाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन मन्त्रालयले अनुरोध गरेको छ ।

‘वर्तमान आर्थिक संवेदनशीलता,चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्वपूर्ण समयलाई मनन् गरी अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउनु हुन अनुरोध छ’ परिपत्रमा भनिएको छ ।मन्त्रालयले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको परिपत्रमा आधिकारिकता पुष्ट्याइँ हुन नसक्ने तथा गलत कागजात तयारगरी पठाएका अनुरोध पत्रमाथि मन्त्रालयले कारबाही गर्ने चेतावनी समेत दिएको छ । सरकारले ३० फागुन २०७९को बैठकले अत्यावश्यक अवस्थामा बाहेकका अन्य अवस्थामा वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको थियो ।​

प्रतिक्रिया दिनुहोस