इयुसहित युरोपेली देशसँग सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

रासस

सोमबार, ०७ साउन २०७५, १३ : ५३
इयुसहित युरोपेली देशसँग सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा भोलि राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय मञ्च र अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलगायत मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्ने उद्देश्यले उहाँ पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियमको भ्रमणमा जान लाग्नुभएको हो ।

ब्रसेल्स, पेरिस, लण्डन, बर्लिन, जिनेभा र भियनामा रहेका नेपाली राजदूत एवं स्थायी प्रतिनिधिलाई ब्रसेल्समा भेला गरेर नेपालको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्दै आर्थिक एवं विकास कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मन्त्री ज्ञवालीले निर्देशन दिने कार्यक्रम छ ।

युरोपेली संघ र युरोपका महत्वपूर्ण देशसँग दुई पक्षीय सम्बन्ध विस्तार गर्न तथा संघअन्तर्गतका संरचनालाई नेपालको वस्तुस्थिति अवगत गराउन तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका परियोजनामा सहायता जुटाउनेतर्फ पनि आफ्नो भ्रमण केन्द्रित रहने उहाँले राससलाई बताउनुभयो ।

पारस्परिक सम्बन्ध विस्तारबारे पोर्चुगल र लग्जेम्बर्ग सरकारसँग छलफल गर्ने जानकारी दिँदै उहाँले बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडेर रेयानडेर्स र पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्टोस सिल्भासँग बेग्लाबेग्ले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस