लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १२ : ४७
लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौं। सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् ।

उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेटेका हुन् । 

यस्तै, लगानीकर्ताले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाइ १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन् । 

यता, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग पनि रहेको छ । साथै, बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस