सात स्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, १४ : ०९
सात स्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

गण्डकी प्रज्ञा।प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा यस क्षेत्रका सात स्रष्टालाई सम्मान गरिएको छ । कला, साहित्य, संस्कृति, सङ्गीत तथा लोकगायन क्षेत्रमा विशिष्टरुपमा योगदान पुर्र्याएको भन्दै प्रतिष्ठानले शुक्रबार कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको हो ।गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ बाट पर्वतका स्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संस्कृति सम्मान २०७९ बाट पोखराका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा सङ्गीत सम्मान २०७९ बाट स्याङ्जाका स्रष्टा अम्मर गुरुङ र गण्डकी प्रज्ञा कला सम्मान २०७९ बाट तनहुँका स्रष्टा आलोक गुरुङ सम्मानित हुनुभएको छ ।

उहाँहरुलाई जनही रु एक लाख, दोसल्ला र सम्मानपत्रद्वारा उच्च अदालत पोखराका मुख्य नयायाधीश डिल्लीराज आचार्यले सम्मान गर्नुभएको हो ।लोकगायिका हरिदेवी कोइराला, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यखड्का विखर्ची, गण्डकी प्राविधि शिक्षा तथा तालीम केन्द्रका निर्देशक डा सोमलाल सापकोटाले लगायतले उहाँहरुलाई सम्मान अर्पण गर्नुभएको थियो ।यसैगरी गण्डकी प्रज्ञा–प्रतिष्ठान नारी सम्मान २०७९ बाट लमजुङ निवासी लोकगायिका माया गुरुङ रु ५० हजारसहित सम्मानित हुनुभएको छ ।

गण्डकी प्रज्ञा युवा सम्मान २०७९ बाट मोतीबहादुर कार्की र प्रज्ञा प्रोत्सहनबाट लक्ष्मी थापा सम्मानित हुनुभएको छ । उहाँहरुलाई जनही रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको छ ।प्रतिष्ठानका कुलपति सूर्य खड्काको संयोजकत्वमा गठित छनोट समितिले स्रष्टा छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनुभएको थियो ।गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ स्रष्टाको ‘बायोग्राफी’समेत तयार पारेको छ । परम्परागत गीत संरक्षणको र स्रष्टा स्वास्थ्य बीमा कार्यक्रमको समेत थालनी गरिएको छ । प्रतिष्ठानको स्थापना विसं २०७८ वैशाख १५ गते गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस