आइपिएल इतिहासकै दोस्रो उच्च योगफल बनेको खेलमा लखनउको सहज जित

एजेन्सी

शनिबार, १६ बैशाख २०८०, ०७ : ५६
आइपिएल इतिहासकै दोस्रो उच्च योगफल बनेको खेलमा लखनउको सहज जित

एजेन्सी । लखनउ सुपरजायन्टसले इन्डियन प्रिमियर लिग(आइपिएल) को जारी संस्करणमा पाँचौ जित निकालेको छ।

पञ्जाब किंग्सलाई ५६ रनले पराजित गरेको लखनउले जारी सिजनकै सर्वाधिक उच्च तथा आइपिएल इतिहासको दोस्रो ठुलो रन स्कोर बनाएको थियो।

मोहालीमा भएको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो। पहिले ब्याटिङका लागि मैदानमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो।

जवाफमा पञ्जाब १९.५ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। लखनउले लिग इतिहासमा दोस्रो सर्वाधिक उच्च स्कोर बनाउको हो। आइपिएल इतिहासमा सर्वाधिक रन बेंगलोरको नाममा रहेको छ। आरसिबीले २०१३ मा पुर्णे वारियर्सविरुद्ध २ सय ६३ रनको स्कोर बनाएको थियो।

जारी सिजनमा भने लखनउले बनाएको यो स्कोर सर्वाधिक हो। आइपिएल इतिहासमा दोस्रो पटक २५० प्लस को स्कोर बनेको हो। यो खेलमा ६७ बाउन्ड्री प्रहार भएका थिए।

लखनउका लागि मार्कुस स्टोइनिसले ४० बलमा ७२ रनको इनिङ खेल्दा क्याली मेयर्सले ५४ रन बनाए। त्यस्तै आयुष बडोनीले ४३ रन बनाउँदा निकोलस पुरनले १९ बलमा ४५ रन प्रहार गरेका थिए।

जवाफमा पञ्जाबले मध्यम सुरुवात गरेको थियो। उसका लागि ओपनर हरु दोहोरो स्कोर नबनाउँदै पेभिलियन फर्किएपनि अथर्व टाइडेले ६६ रन बनाउँदा सिकन्दर रजाले ३६ रन बनाए।

त्यस्तै, लियम लिभिस्टोनले २३ रन बनाउँदा साम कुरानले २१ तथा जितेश शर्माले २४ रन बनाएका थिए। पछिल्लो क्रम भने समालिएर क्रिजमा रहन सकेन। लखनउका लागि यस ठाकुरले ४ विकेट लिँदा नभिन उलहकले ३ विकेट हात पारे।

जितसँगै लखनउले अङ्क तालिकामा ८ खेलबाट १० अङ्क बनाएर दोस्रो स्थानमा उक्लिएको छ। परजित पञ्जाब छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस