उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ०७ : ०२
उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत

काठमाडौँ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो ।

वैशाख १० मा तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सके ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ । जसअनुसार  उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को  दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

जसअनुसार तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् । यसै गरी चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन् ।

यसै गरी बारा २ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका रमेश पुरुषोत्तम पौडेलबाहेक अरूले जमानत जोगाउन सकेनन् ।

दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्दा बारा २ मा भने रास्वपाले जमानत समेत जोगाउन सकेन । रास्वपाका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २८२९ मत पाउँदै जमानत जोगाउन नसकेका हुन् ।

बारा २ मा जनमतका कुशवाहा उपविजेता हुँदा चितवन २ मा कांग्रेसका श्रेष्ठ र तनहुँमा कांग्रेसका गोविन्द भट्टराई निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित बने । यस्तै तीन वटै क्षेत्रमा एमालेका उम्मेदवार तेस्रो भए ।

उपनिर्वाचन कांग्रेस र एमालेका उम्मेदवारले मङ्सिर ४ को निर्वाचनको तुलनामा कम मत पाउँदा बाराबाहेक बाँकी दुई क्षेत्रमा रास्वपाले चमत्कार गर्‍यो । उसो त संसद्को पाँचौँ शक्ति राप्रपाले समेत तीन वटै क्षेत्रमा लज्जास्पद नतिजा ल्यायो । राप्रपाले तीन क्षेत्रमा गरेर मात्र ७१२ मत पाएको हो ।

प्रतिक्रिया दिनुहोस