मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

एजेन्सी

बुधबार, १३ बैशाख २०८०, ०७ : २८
मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

शुभमन गिलको अर्धशतक अनि डेविड मिलर, अभिनव मनोहर र राहुल तेवाटिया आक्रामक ब्याटिङमा गुजरातले दुई सय रनको स्कोर कटाएको थियो ।

गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए । मिलरले २२ बलमा ४६ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे ।

अभिनव मनोहरले २१ बलबल खेल्दै समान ३ चौका र छक्का प्रहार गरी ४२ रन जोडे । तेवाटियाले ५ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २० रन बनाए ।

अभिनव, मिलर र तेवाटिया चम्कँदा गुजरातले अन्तिम चार ओभरमा ७० रन जोडेको थियो ।  विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।

मुम्बईका पियुष चावलाले २ तथा अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिए ।

बलिङमा गुजरातको अफगानी स्पीन जोडी रासिद खान र नुर अहमद चम्कपिएपछि गुजरातले मुम्बईलाई १५२ रनमै रोक्न सफल भयो । कप्तान हार्दिकले मुम्बईका कप्तान रोहित शर्मालाई दोस्रो ओभरमै कट एण्ड बोल्ड गरे ।

त्यसपछि मुम्बईले नियमित अन्तरमा विकेट गुमायो । रासिदले इशन किसन र तिलक बर्माको विकेट लिए । नुरले क्यामरुन ग्रीन र सूर्यकुमार यादव र हार्ड हिटर टिम डेविडलाई आउट गरे ।

प्रतिक्रिया दिनुहोस