सुजन गेडाल र वियंका राईले राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा जिते स्वर्ण

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १५ : ५८
सुजन गेडाल र वियंका राईले राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा जिते स्वर्ण

काठमाडौं । ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।यु–१९ सिंगल्सको ब्वाइजमा सुजन तथा गर्ल्समा वियंकाले स्वर्ण जितेका हुन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेश्रो भए। गर्ल्समा एभीएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेश्रो बने ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभीएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेश्रो भए । उक्त स्पर्धाको गल्र्समा स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई काठमाडौं महानगरपालिककी मेयर सुनिता डंगोल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र उपमहासचिव सुवर्ण श्रेष्ठ, आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभागका प्रमुख महेन्द्र लिगललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आयोजकका अनुसार तीनदिने प्रतियोगितामा १ सय ६० खेलाडी सहभागी थिए ।यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस