माफी माग्दै प्रकाश सपुतले भनेः कसैलाई असफल बनाएर सफल हुनु छैन

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १२ : २६
माफी माग्दै प्रकाश सपुतले भनेः कसैलाई असफल बनाएर सफल हुनु छैन

काठमाडौं । ‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।

उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष/अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकीनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् ।

रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । यो चेतावनीको पृष्ठभूमिमा गायक सपुतले प्रष्टीकरणसहित माफी मागेका हुन् । उनले अनलाइनखबरसँग कुरा गदै पनि गीतमार्फत पितृसत्तालाई प्रश्न गरेको बताएका थिए । साथै, विरोध गर्नेहरुको कलाचेतमाथि प्रश्न उठाएका थिए ।

गीतले रिलिज भएको सात दिनमै एक करोडभन्दा बढी भ्यूज प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस