देशको अस्तित्व संकटमा छ : प्रकाण्ड

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, २० : ०५
देशको अस्तित्व संकटमा छ : प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले देशको अस्तित्व संकटमा पर्न लागेको बताए । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै सङ्कटपूर्ण अवस्थामा रहेको बताए । उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताए । उनले एमसीसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताए । उनले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुस्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए ।  

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताए । राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उनले बताए । 

पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौँको खुलामञ्चमा कार्यक्रम गर्ने बताए । कार्यक्रममा देशका कम्युनिस्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले जानकारी दिए । करिब १५ हजार मानिसहरूको सहभागिता हुने सो कार्यक्रममा शीर्ष पार्टीका नेताहरूलाई समेत निमन्त्रण गरिएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस