सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १५ : ४५
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर व्यवसायीहरुमा देखिएका असहज, अप्ठ्यारो र दबाबको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मन्त्री महतले व्यवसायीका  अप्ठ्यारा र व्यवधानलाई  सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एक अर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’ 

मन्त्री महतले सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । ‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौती छ’, डा. महतले भने, ‘हामी नीतिगत रूपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’ 

उनले आफ्नो क्षेत्रबाट योगदान दिनुनै  महत्त्वपूर्ण भएको बताए । महतले भने, ‘आर्थिक सूचांक अब सकारात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरू समय सापेक्ष बनाउने पहल गरिएको हो ।’ उनले निजी क्षेत्रको समस्यालाई मौद्रिक नीतिबाट सम्बोधन गर्न सरकार तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस