सेयर बजारमा दोहोरा अंकको गिरावट, कारोबार रकम ९२ करोड

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १५ : ४२
सेयर बजारमा दोहोरा अंकको गिरावट, कारोबार रकम ९२ करोड

काठमाडौं । सेयर बजारमा दोहोरा अंकको गिरावट भएको छ । नयाँ आर्थिक वर्ष २०८० सुरु भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले गिरावट हुँदा १९०८.०४ अंकमा बन्द भएको छ । बजारको सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।

गत बुधबार नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा नेप्सेमा ९२ अंकको उच्च वृद्धि भएको थियो । त्यसपछि बिहीबार नै २९ अंकले करेक्सन भएको नेप्से नयाँ वर्षको पहिलो दिन ३ गते आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको थियो । सोमबार पनि नेप्से घट्दो क्रमममा नै देखिएको छ ।

नेप्सेमात्रै नभएर कारोबार रकम पनि घट्दो छ । गत बुधबार करिब २ अर्बको कारोबार भएको बजारमा बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको थियो । आइतबार करिब १ अर्ब रहेको कारोबार रकम सोमबार ९२ करोड १ लाखमा झरेको छ । २७ हजार ४३७ कारोबारमा ३१ लाख ४४ हजार ५७३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ करोड २ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ३४ लाख र एनआईशी एशिया बैंकको ३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको भने स्थिर छ। सोमबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामलिङ पावर कम्पनीको सेयरमूल्य पनि ४.९९ प्रतिशतले बढेको छ ।

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशत, उपकार लघुवित्तको ४.२१ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस