अर्थमन्त्री महतद्वारा भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण माग

सफल खबर संवाददाता

सोमबार, २७ चैत्र २०७९, १२ : ५७
अर्थमन्त्री महतद्वारा भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण माग

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व घट्दै जानुको कारणसहित जवाफ मागेका छन् । सोमवार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात–निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण पेश गर्न विभागलाई निर्देशन दिएका हुन् । कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात–निर्यात भइरहेका छन्, सोको बारेमा वास्तविक तथ्याङ्क पेश गर्न पनि उनले निर्देशन दिए ।

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भएर वा चोरी पैठारी भएका कारण राजश्व संकलन कम भएको हो, सो को वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे ।

‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ,’ अर्थमन्त्री महतले भने, ‘कुन प्रकृतिका वस्तुहरु आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो की अर्को नाकाबाट भएर गयो । त्यसको ब्रिक डाउण्ड मलाई चाहियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राजश्व धेरै कम भएको छ । त्यहाँ पनि राजश्व चुहावट भएको भन्ने व्यापक खबर छ । सबै भन्सार नाकाको अवस्था त्यस्तै भएकाले यहाँहरुले गम्भिरताका साथ लिनुहोला । मेरो लागि अन्य कुनै मूल्याङ्कनको आधारहरु छैनन् ।’

उनले भन्सार प्रमुखहरुलाई कतव्र्यनिष्ट भएर नतिजामुलक काम देखाउन निर्देशन दिए । उनले भन्सारमा आयात–निर्यात गर्ने उद्योगी–व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन पनि भन्सार कर्मचारीहरुलाई आग्रह गरे । मन्त्री महतले भने, ‘कतव्र्यनिष्ठ भएर काम गर्ने नतिजा देखाउनुस् । त्यो भन्दैमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनाश्यक दुःख दिने भनेको होइन । जे हुनुपर्ने थियो त्यसको कार्यान्वयन भइरहेको छैन । जो जसले जेको नेतृत्व गरिरहनुभएको छ कतव्र्यनिष्ट र क्रियाशिल भएर मेरो नेतृत्वमा अर्थमन्त्रालय पारदर्शी रुपमा काम गर्न चाहन्छौं । नतिजा देखाउन चाहन्छौं । त्यसमा भन्सार विभाग प्रमुख हो । त्यसको लागि सक्षम नेतृत्वको आवश्यक छ । जसले नेतृत्व लिनुभएको छ यसले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्वयक रहेको समेत उनले बताए । नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिए ।

सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी नै भएको भन्दै उनले सरकारले भन्सार नीति बनाउँदा र भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस