चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, १५ : १३
चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुभयो । पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिने विश्वास उनले व्यक्त गरे । प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक, निष्ठा र कर्तव्य बोध गरी कर्तव्य निर्वाह गर्न जरुरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन् । तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनन्दिन कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।”

प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए । साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उहाँले प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिए । 

समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यवोधको थप ऊर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिबद्ध रहने विचार व्यक्त गरे । संगठनप्रति सदैव इमान्दार, बफादार र पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत संकल्पित रहने प्रतिबद्धता उनले व्यक्त गरे । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस