मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो अर्को समिति

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, २० : ०६
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो अर्को समिति

काठमाडौं। मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले अर्को समिति बनाएको छ। गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य र गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्य सचिव रहेका छन्।

सरकारले यसअघि पनि पीडितसँग वार्ताका लागि समिति बनाएको थियो। गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो। 

उक्त समितिमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल थिए।

जुन समितिसँग मिटरब्याज पीडितको एउटा टोलीले पाँचबुँदे सहमति गरेको थियो। उक्त सहमतिलगत्तै मिटरब्याज पीडितहरूको अर्को टोली आएर काठमाडौंमा आन्दोलन गरिरहेको छ।

सरकारले मिटरब्याजलाई अपराध घोषणा गरिसकेको छ भने समस्या समाधानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस