पूर्वी रुकुममा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिए

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, १६ : ५२
पूर्वी रुकुममा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिए

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत भेटिएका हुन् । दुई जना नाबालिकाको शव भेटिएको प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए। बुधवार सिस्नु टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको छ । ‘नेपाली सेनाको हेलिकप्टरमा तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ’ डिआइजी पोखरेलले भने–‘डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ ।’ पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठ घटनास्थलमा पुगेकी छिन् ।  अभिभावकले बिहीबार बिहान घटनाबारे  प्रहरीलाई जानकारी गराएका हुन् । सदरमुकामबाट घटनास्थलमा पुग्न करिब ९ घण्टा लाग्छ । 

प्रतिक्रिया दिनुहोस