आजदेखि नारायणगढका सडकपेटीमा व्यवसाय गर्न नपाइने

मंगलबार, ०४ पुस २०७४, १० : २७
आजदेखि नारायणगढका सडकपेटीमा व्यवसाय गर्न नपाइने

चितवन । भरतपुर महानगरपालिकाले आज मंगलबारदेखि नारायणगढ र भरतपुर बजार क्षेत्रका सडकपेटीमा फुटपाथ व्यवसाय गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र महानगरपालिकाले सडकलाई व्यवस्थित बनाउनका लागि सडक छेउमा गरिने व्यवसाय नगर्न सबैलाई जानकारी गराएको छ । 
सडक छेउमा व्यवसाय गर्दा सडक अव्यवस्थित भएको र फुटपाथमा यात्रा गर्ने सर्वसाधारणलाई असहज भएकोले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न रोक लगाइएको महानगरपालिकाले जनाएको छ । ‘फुटपाथमा व्यवसाय गर्नेहरुको लागि वैकल्पिक स्थानको खोजी गरिरहेका छौँ’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने, ‘शहरलाई व्यवस्थित बनाउँदै सुन्दर नगरी बनाउनका लागि कार्यालयले यो काम गर्न लागेको हो ।’ महानगरपालिकाले माईकिङ् गर्दै सबैलाई जानकारी गराएको जोशीले बताउनु भयो । सडक छेउमा व्यवसाय गर्दा दुर्घटना हुने र बजारको सुन्दरता हराउने महानगरपालिकाले जनाएको छ ।
यस विषयमा सरोकारवालासँग परामर्श गर्ने काम अघि बढाइएको महानगरपालिकाले जनाएको छ । अहिले फुटपाथमा व्यवसाय गर्दै आएका व्यवसायी कति छन् भन्ने यकिन नभएपनि उनीहरुको रोजीरोटी खोस्ने काम नभई शहरलाई व्यवस्थित गर्न खोजिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । स्थानीय व्यवसायीले फुटपाथमा फलफूल र कपडा बिक्री गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस