चितुवाको आक्रमणबाट एक प्रहरीसहित तीनजना घाइते

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १० : ०९
चितुवाको आक्रमणबाट एक प्रहरीसहित तीनजना घाइते

वीरगञ्ज । चितुवाको आक्रमणबाट बुधबार बिहान पर्साको पोखरियामा एक प्रहरीसहित तीन जना घाइते भएका छन्।

जंगलबाट गाउँमा आएको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका-४ सतवरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएको स्थानीय शैलेश गुप्ताले जानकारी दिए ।

घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उनलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको छ। तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको गुप्ताले बताए।

बिहान जंगलबाट सतवरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

चितुवा अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन। सतवरिया टोलकै एक गोठ घरमा चितुवा लुकेर बसेको छ। चितुवालाई नियन्त्रणमा लिन अहिले वनको टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस