ल क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, १० : १४
ल क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी

काठमाडौँ  ।  नेपाल ल क्याम्पसमा सम्पन्न भएकाे स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु_  निर्वाचनमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल सभापतिमा विजयी भएका छन्।

निकटम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्वियुका कैलाश तामाङलाई ५२ मतले पराजित गर्दै ढुंगेल सभापति पदमा विजयी भएका हुन्। तामाङले ५३९ मत प्राप्त गरेका थिए। यस्तै, सचिवमा नेविसंघका मनोज सिंह विजयी भएका छन्। उनले ६०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निशान्त बाबु खड्काले ५२० मत प्राप्त गरेका छन्।

यसैगरी, कोषाध्यक्ष अनेरास्ववियुकी सञ्ज्यती नेमवाङ विजयी भएकी छन् भने खुल्ला सदस्यमा अनेरास्ववियुकै ५ जना विजयी भएका छन्।खुल्ला सदस्यमा नेविसंघका दुई जना निर्वाचित भएका छन्।

करिब १४ वर्षपछि भएको निर्वाचनमा एमाले निकट अखिलको गठ मानिएको नेपाल ल क्याम्पसमा अखिललाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी भएको क्रान्तिकारी उपत्यका विशेष प्रदेश सदस्य दीपेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार ल क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको थियो।

प्रतिक्रिया दिनुहोस