आइतवार हुने स्ववियु निर्वाचनको सबै तयारी पूरा

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, १२ : ५३
आइतवार हुने स्ववियु निर्वाचनको सबै तयारी पूरा

काठमाडौं । आइतवार हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि शुक्रवारदेखि नै मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध गरिएको छ ।

निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।

केही क्याम्पसहरुमा चुनाव अघि नै स्ववियु गठन भएको छ । क्याम्पसमा रहेका विद्यार्थी सङ्गठनहरु बीचको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो ।

केही क्याम्पसमा विवादका कारण चुनावी प्रक्रिया अघि बढ्न सकेको छैन । स्ववियु चुनावमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग हुने भएको छ ।त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुको लागि प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेदवार रहेका छन् ।

यस्तै ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस