भवन पुनःनिर्माणका लागि म्याग्दीमा प्रवासीद्वारा सहयोग

रासस

शनिबार, ३० असार २०७५, १२ : ०१
भवन पुनःनिर्माणका लागि म्याग्दीमा प्रवासीद्वारा  सहयोग

म्याग्दी । डेढ वर्षअघिको आगालागिबाट ध्वस्त भएको बेनी नगरपालिका– ४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनःनिर्माणका लागि प्रवासीबाट रु दुई लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

दश कोठे भवन पुनःनिर्माणका लागि म्याग्दी समाज अमेरिकाले संकलन गरेको रु दुई लाख २१ हजार १७० शुक्रबार प्रदेशसभा सदस्य विनोद केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले व्यवस्थापन समितिका अध्यक्ष प्रेम बानियाँ, आर्थिक संयोजक सुमन बानियाँ र प्रअ रामप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
पूर्व विद्यार्थी मनोज र दिपा बानियाँको पहलमा अमेरिकामा भवन पुनःनिर्माणका लागि सहयोग संकलन भएको थियो । सोही अवसरमा स्थानीयवासी चन्द्रबहादुर चन्दले रु एक लाख पाँच हजार र जलजला समाज अस्टे«लियाले उपलब्ध गराएको रु ४५ हजार रु पनि विद्यालयलाई हस्तान्तण गरिएको थियो ।

रु एक करोडको लागत अनुमान गरिएको भवन पुनःनिर्माण कार्य गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । भवन पुनःनिर्माणका लागि हाल दक्षिण कोरियामा रहेका पूर्व विद्यार्थी विनोद कुँवरको पहलमा दक्षिण कोरियाको ‘ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशन’ले सहयोग गरेको छ ।

विसं २०७३ फागुन २६ गते साँझ विद्युत् सर्ट भएर आगालगी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ति भएको थियो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयका विद्यार्थी जीर्ण भवन र टहरामा बसेर पढ्दै आएका छन् ।

बेनीमा नौ किमी नयाँ सडक
बेनी नगरपालिका क्षेत्रमा चालु आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो ।
१८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ किमी सडक कालोपत्रे र ढलान, ४१ वटा योजनाबाट २७ किलोमिटर सडक मर्मत सम्भार भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

२२ वटा खानेपानी आयोजना निर्माण गरेको नगरपालिकाले १६ हजार मिटर खानेपानी पाईपलाईन विस्तार र आनन्दबगर, अर्थुंगे, कुरीलाखर्क र डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस