मोटोपन कसरी घटाउने ?

एजेन्सी

शनिबार, २७ फागुन २०७९, १२ : ४४
मोटोपन कसरी घटाउने ?

एजेन्सी । मोटोपन कसरी घटाउने ? यसमा सबैभन्दा प्रचलित दुई विधि छन्, खानामा कटौती गर्ने वा कडा शारीरिक व्यायाम गर्ने । खानाको मात्रा कम गर्दा वा कति छाक खाना नै छाड्दा मान्छेहरु दुब्लाउन थाल्छन् । तौल घटेको देखिएपनि मान्छे निरोगी र तन्दुरुस्त जस्तो देखिंदैन । त्यसैले खाना छाडेर मोटोपन घटाउने विधि उपयुक्त मानिंदैन । त्यसैले खानामा कटौती गर्नुभन्दा शारीरिक व्यायाम गर्नु ठीक हुन्छ ।

कडा शारीरिक व्यायाम गर्दा मोटोपन घट्छ ?

कडा शारीरिक व्यायाम गरेर मात्र तौल घट्दैन । दैनिक ४५ मिनेटदेखि ६० मिनेट व्यायाम गर्दा पुग्छ । दैनिक २–३ घण्टा व्यायाम गर्‍यो, खाना पनि कम गर्‍यो भन छिटो तौल त घट्छ । तर पछि त्यसलाई निरन्तरता दिन नसक्दा फेरि तौल बढ्ने हुन्छ । त्यसैले कडा शारीरिक व्यायामभन्दा पनि आफ्नो शरीरको आवश्यकताअनुसार व्यायाम गर्नु उपयुक्त हुन्छ ।

पेटको बोसो मात्र घटाउने भनेको भ्रम मात्रै हो । पेटको मात्र बोसो घटाउन सम्भव हुँदैन । मान्छेको शरीर फरक–फरक हुन्छ कसैको पेटमा धेरै बोसो जम्मा हुन्छ भने कसैको तिघ्रामा । त्यसैले पेटको बोसो मात्र घटाउने व्यायामभन्दा पनि पूरै शरीर घटाउने व्यायाम जस्तै, उठबस, पुलअफ, पुसअप बढी व्यायाम बढी प्रभावकारी हुन्छ ।

खानाको मात्रा घटाउँदा के हुन्छ ? 

खानाको मात्रा घटाउनुभन्दा सन्तुलित खाना खाएर मोटोपन घटाउनु उपयुक्त हुन्छ । मात्रा घटाउनै परे पनि बिस्तारै घटाउनुपर्छ । मानौं, कसैले १० चम्चा खाना खान्छ भने एकैचोटि पाँच चम्चा खान हुँदैन । १० बाट ९, ८ गरेर घटाउनुपर्छ ।

कोही व्यक्तिले फास्टिङ गरिरहेका छन्, डाइटिङ गरिरहेका छन्, खाना थोरै खाइरहेका छन्, तर तौल घटेको छैन भने खानाको सन्तुलन नमिलेको हुन सक्छ । किनभने मान्छेको शरीरको अवस्था अनुसार कति खाने भन्ने कुरा तय गर्न सकिन्छ । त्यसैले मात्रा घटाउनुसँगै खानाको सन्तुलन पनि मिल्यो भने मोटोपन घट्छ ।

अस्वस्थकर जंकफुड, प्याकेट फुड, चिल्लो, तारेको, धेरै गुलियो खानेकुराले मोटोपन बढाउँछ । मदिराजन्य पेयले पनि मोटोपन बढाउँछ । महिला र पुरुषको हकमा नै कति क्यालोरी खाने भन्ने कुरा फरक हुन्छ । पुरुषले दैनिक तीन हजार क्यालोरी खानुपर्छ भने महिलाले दुई हजार क्यालोरी खाए पुग्छ । तौल घटाउनु छ भने त दैनिक पुरुषले २५ सय र महिलाले १५ सय क्यालोरी खानुपर्छ । यसरी दैनिक खानामा थोरै क्यालोरीको सेवन र पोषण मिलाएर खान सकियो भने स्वस्थ तरिकाले तौल घटाउन सकिन्छ ।

मोटोपन घटाउने सर्वोत्तम उपाय

मोटोपन घटाउन सबैलाई एउटै विधि लागु हुँदैन । तर स्वास्थ्य तरिकाले मोटोपना घटाउन पाँच कुरामा ध्यान दिनुपर्छ । व्यायाम, सन्तुलित खाना, आराम, प्रशस्त मात्रामा पानी पिउने र सकारात्मक मानसिकता म तौल घटाउन सक्छु भन्ने दृढता हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस