निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु : वरिष्ठ उपाध्यक्ष ढकाल

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १४ : ०६
निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडाैं । ​नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनःस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । यसका लागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरू पूरा गर्न बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ ।'

उनले सस्तो लोकप्रियता र भीडमा तालीका लागि मात्र गैरजिम्मेवार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे। ​कोभिड-१९ का कारण मुलुकको आर्थिक अवस्था बिग्रिएकाले वैदेशिक रोजगारमा जाने क्रम घट्दा नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाएका र त्यसले रेमिट्यान्स आप्रवाहमा कमी आएको उनको भनाइ थियो। 

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उनले बताए। 'कोरोना भाइरसको समयमा ६ महिनाको अवधिमा बैंकहरूबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ । त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरूलाई कर्जा लिन प्रोत्साहन गरेका थिए ।बैंकहरूले पनि सहज रूपमा कर्जा दिएकै हुन् ।  उद्योगी व्यवसायीहरूले कर्जा लिएर घर जग्गा किनेको पनि हो,' उनले भने। 

तर कोरोना भाइरसपछि वैदेशिक रोजगारमा जाने क्रममा कमी आएको र गएकाहरू पनि फर्किएका उनले बताए।यस बेला पर्यटकहरू आउने क्रम पनि रोकिएको उनले खुलाए। 'तब, बैंकमा रहेको तरलता सकिँदै गयो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकहरूलाई तरलता व्यवस्थापन गर्न मुद्दतीमा ५० प्रतिशत र बचतमा १०० प्रतिशतजस्तो ब्याज बढाउने नीति लियो । त्यसको फलस्वरुम करिब ८ प्रतिशत मात्र तरलता बैंकमा आयो । तर, यसले बैंकको लागत बढ्न गयो । बैंकको व्याज बढेपछि तरलता बढ्छ भनेको त्यसो हुन सकेन,' ढकालले भने। उनले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको र अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे। 

'वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,' उनले भने। 

हरेक असजिलोमा संघर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उनले बताए। उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरूको प्रतिनिधित्वमा पूर्ण समर्थन जनाउँदै उनले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पूरापूर प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले महासंघको विधानमा रहेका केही प्रावधान नमिलेको भन्दै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने विश्वास दिलाए। 

प्रतिक्रिया दिनुहोस