‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष

रासस

विहीबार, २८ असार २०७५, २१ : १०
‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष

फलेवास । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख गरिएका हकहरुको कार्यान्वयनका लागि संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा समस्या भएको बताउनुभएको छ ।  

पर्वतको मोदी गाउँपालिकास्थित पातिचौर–मैदान–लप्सीबोट सडकको शुभारम्भ कार्यक्रममा तिमिल्सिनाले संघीय सरकारले आवश्यक कानूनको निर्माण गर्न नसक्दा प्रदेश सरकार र स्थानीय सरकारले गर्ने काम कारवाही प्रभावित भएको बताउनुभयो । 

संविधानले व्यवस्था गरेका हकहरुलाई कानूनमा उतार्ने कुरा महत्वपूर्ण भएकाले आगामी दिनमा केन्द्र सरकारले त्यस दिशातर्फ लाग्ने बताउनुभयो । हामीले संविधानमा सबै कुरा व्यवस्था गरेका छौँ, उहाँले भन्नुभयो, “संविधानमा भएका कुरालाई कार्यान्वयनमा लैजाने विषय चुनौतीपूर्ण छ ।” 

अध्यक्ष तिमिल्सिनाले संविधानमा लेखिएका कुराको कार्यान्वयन गरी व्यवहारबाट रुपान्तरण गर्नका लागि राष्ट्र समृद्ध हुन जरुरी रहेको बताउँदै देशलाई समृद्ध बनाउन तिनै तहका सरकारले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश समृद्धिको बाटोमा अगाडि बढिसकेको बताउँदै समृद्ध बनाउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

तिमिल्सिनाले विकास नै राज्यको पहिलो प्राथमिकता भएकाले विकास निर्माणका कार्यमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेसमेत बताउनुभयो । विगतका समयमा जस्तो विकास निर्माणका कार्यमा अनावश्यक खिचातानीले देश पछाडि परेको बताउँदै उहाँले समृद्धिको दिशामा अगाडि बढ्न सबैसँग सहकार्यको खाँचो रहेको औँल्याउनुभयो । 

फरक प्रसंगमा बोल्दै तिमिल्सिनाले पर्वत जिल्लालाई राष्ट्रिय गौरवका योजना कार्यान्वयनका लागि आफू निरन्तर लागिपर्ने कुरामा जोड दिनुभयो । साना योजना कार्यान्वयनका लागि पनि आफूले भूमिका खेल्दै आएको बताउँदै आफ्नो छ वर्षे कार्यकालमा पर्वतमा देखिने गरी परिवर्तन गर्न लागिपरेको जानकारी गराउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पदम गिरीले पर्वत जिल्लालाई विकास निर्माणका क्षेत्रमा मुलुककै अग्रणी जिल्ला बनाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीले संसद्मा आफ्ना कुरा राख्न छाडेर अनशनका लागि व्यक्तिलाई उकास्ने काम गरेको आरोप पनि लगाउनुभयो । “पर्वतमा विकास निर्माणमा परिणाममुखी काम गर्न प्रयत्नशील छौँ”, उहाँले भन्नुभयो, “खानेपानी, सडकलगायतका क्षेत्रमा धेरै काम हुनेछन् ।” 

सोही कार्यक्रममा पूर्व सांसद अर्जुन जोशीले सरकार अधिनायकवादी बन्दै गएको आरोप लगाउनुभयो । सरकारले प्रजातान्त्रिक अभ्यास विपरीत काम गर्न थालेको उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस