केपी ओलीले निषेधको राजनीति गरे : बद्री पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, १९ फागुन २०७९, २० : २९
केपी ओलीले निषेधको राजनीति गरे : बद्री पाण्डे

‍धनगढी । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण निषेधको राजनीति खेप्नुपरेको बताएका छन्।

शुक्रबार आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको ज्यादतिका कारण नागरिक समाजसमेत आक्रान्त बनेको बताए।

पाण्डेले न्यायपालिकाको अपमानप्रति मंसिर ४ गतेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिएको बताए।

‘हामीले एकले अर्कोलाई आफ्नै सहयात्रीका रुपमा मत माग्यौँ। प्रचण्डले गोरखा–२ बाट कांग्रेसको मत लिनुभयो,’ पाण्डेले भने, ‘मैले आफूले बाजुराबाट चुनाव लड्दै गर्दा माओवादी र समाजवादीका मत लिएर निर्वाचित भएँ।’

उनले मतदाताकाबीचमा स्पष्ट रुपमा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकलाई राजनीतिक स्थायित्वका दिन, विकास र समृद्धिका लागि मत मागेको बताउँदै राजनीतिक स्थिरताबाट मात्रै मुलुकलाई समृद्धि र स्थायित्व दिन सक्ने दाबी गरे। बीचमा केही विचलन पैदा भए पनि अहिले राजनीति ठीक ठाउँमा आएको उनको भनाइ छ।

प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री स्वीकार गर्दै पुस २६ गते विश्वासको मत दिएको पाण्डेले स्मरण गरे। आठ दलीय गठबन्धनबाट हस्ताक्षर गर्दै कोही प्रस्तावक र कोही समर्थन जनाएर कांग्रेसको तर्फबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको उल्लेख गर्दै उनले गठबन्धनले कोर्स करेक्सन गरेको दाबी गरे।

प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एकताको सन्देशका लागि यही २५ गते रामचन्द्र पौडेललाई जिताउन उनको आग्रह छ। साथै, उनले नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट एकताको सन्देश दिएको समेत बताए।

प्रतिक्रिया दिनुहोस