तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्ती खर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।
तामाङ समुदायको बसोबास रहेको हात्ती खर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ ।
राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्ती खर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । तमोर नदी किनारको जङ्गलबाट सुरु भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो ।
अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि