सन्तुलित परराष्ट्र नीति आवश्यक : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, १९ : ३९
सन्तुलित परराष्ट्र नीति आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छिन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले बदलिँदो परिवेश अनुरूप नेपालको कूटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताइन् । “बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ”, उनले भनिन् ।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको भन्दै राष्ट्रपति भण्डारीले अर्कातर्फ विश्वव्यापी रूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गरिन् ।

उनले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । नेपालले सदैव आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै राष्ट्रपति भण्डारीले परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गरिन् । “बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्नु हाम्रो प्राथमिकतामा पर्नुपर्दछ । नेपालको संविधानले निर्दिष्ट गरेको मुलुकको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ”, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली जनताको हित प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कूटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिइन् । उनले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय मुलुकको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् । आर्थिक विकास, वैदेशिक लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्द्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनसँगको मित्रवत सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिइन् । उनले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिइन् ।

दुई निकट छिमेकी मुलुकका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य मुलुकसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस