बार्सिलोना र म्यानचेस्टर युनाईटेडको रोमाञ्चक बराबरी

एजेन्सी

शुक्रबार, ०५ फागुन २०७९, ०८ : १०
बार्सिलोना र म्यानचेस्टर युनाईटेडको रोमाञ्चक बराबरी

एजेन्सी । युरोपा लिगअन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा स्पेनिस लिग लिडर बार्सिलोना प्रिमियर लिग दाबेदार म्यानचेस्टर युनाईटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा बिहीबार राति भएको रोमाञ्चक खेल बराबरीमा सकिएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले अग्रता लिएको थियो। खेलको ५० औँ मिनेटमा मार्कस अलन्सोले राफिन्हाको कर्नरमा हेड गर्दै बार्सिलोनालाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए। तर दुई मिनेटपछिनै मार्कुस राषफोर्डले फ्रेडको पासलाई सदुपयोग गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।

बार्सिलोनाविरुद्ध उसको मैदानमा अग्रता बनाउने क्रममा युनाईटेडले ५९ औँ मिनेटमा आत्माघाती गोल उपहार पाएको थियो। बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाईटेड २-१ को अग्रता बनाउन युनाईटेड सफल भएको थियो।

तर घरेलु टोलीले ७६ औँ मिनेटमा गोल फर्काउँदै टिमको सम्भावित हार टार्न बार्सिलोना सफल भयो। बार्सिलोनालाई बराबरीमा ल्याउने क्रममा जुल्स कुन्डेको पासलाई राफिन्होले सदुपयोग गर्दा खेल २-२ गोलको बराबरीमा सकिएको थियो। दुई टोलीबीचको दोस्रो लेग वल्ड ट्राफोर्डमा २४ फेब्रुअरीमा हुने छ।