फिल्म ‘कांतारा’ को प्रिक्वेल बन्ने

सफल खबर संवाददाता

बुधबार, २५ माघ २०७९, ११ : ३६
फिल्म ‘कांतारा’ को प्रिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीद्वारा अभिनित तथा निर्देशित फिल्म ‘कांतारा’को प्रिक्वेल बन्ने भएको छ । फिल्मको सफलतापछि ऋषभले प्रिक्वेलको घोषणा गरेका हुन् ।

भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको सय दिन पूरा गरेको अवसरमा ऋषभले प्रिक्वेल निर्माणको घोषणा गर्दै सन् २०२४ मा रिलिज हुने जानकारी दिएका छन् । हाल स्क्रिप्ट लेखनको काम भैरहेको उनले जानकारी दिए ।

ऋषभ शेट्टीले प्रिक्वेल निर्माणको घोषणा गर्दै भनेका छन्, ‘हामी निकै खुसी छौं र दर्शकप्रति आभारी छौं, जसले ‘कांतारा’लाई अपार माया र सपोर्ट गर्नुभयो । सर्वशक्तिमान देवको आशीर्वादले फिल्मले सफलतापूर्वक सय दिन मनाएको छ । यो खुसीको अवसरमा ‘कांतारा’को प्रिक्वेल घोषणा गर्दैछु ।’ ‘कांतारा’ दोस्रो भाग भएको जानकारी दिँदै उनले अर्को वर्ष पहिलो भाग आउने बताएका छन् ।

गत ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले सुरुवाती दिनमा बक्सअफिसमा अत्यन्त कमजोर व्यापार गरेको थियो । तर, पछि फिल्मले आफ्नो रफ्तार पकड्यो । कन्नड भाषामा बनेको यो फिल्मको सानदार कमाईपछि १४ अक्टोबरबाट हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको थियो । आइएमडिबीमा फिल्मलाई ९.१ को रेटिङ मिलेको छ, जुन उच्च रेटिङ हो ।

प्रतिक्रिया दिनुहोस