पठानले बलिउडमा फेरेको ५ विषय

एजेन्सी

आइतबार, १५ माघ २०७९, ११ : ३५
पठानले बलिउडमा फेरेको ५ विषय

मुम्बई । फिल्म थिएटरमा यतिबेला तिहारको जस्तो माहोल छ । यसको प्रमुख कारण शाहरुख खान र उनको प्रदर्शनरत फिल्म ‘पठान’ हो । चार वर्षपछि पर्दामा हिरोको भूमिकामा कमव्याक गरेका शाहरुखको यो कमव्याकलाई कुनै बलिउड स्टारको सबैभन्दा सानदार कमव्याकका रुपमा लिइएको छ । तर जसरी थिएटरमा शाहरुख प्रति क्रेज बढेको छ, त्यसलाई हेर्दा शाहरुख सिल्भर स्क्रिनबाट कतै टाढा गएका थिए भन्ने लाग्दैन ।

फिल्मले रिलिजको तीनदिनमै विश्वव्यापी रुपमा तीन सय करोडको ग्रस कलेक्सन गर्‍याे । भारतमा मात्रै फिल्मको नेट कलेक्सन तीन दिनमा १५० करोड पार छ । शाहरुखको कमव्याक फिल्मले कोरोना महामारीपछि जुधिरहेको बलिउडको बक्सअफिसमा राम्रो दिन त देखाएको छ नै, तर लकडाउनपछिको समयमा ‘पठान’को सफलताले विशेषत पाँच कुरालाई फेरिदिएको छ ।

जिउँदो स्टारडम                

सन् २०१८ तर्फ एकपटक फर्कौं । फिल्म ‘जीरो’ फ्लप भएपछि सबैभन्दा ठूलो प्रश्न शाहरुखको स्टारडममाथि उठेको थियो । त्यो समयमा ‘शाहरुखको समय सकिएको र ३० वर्षपछि अब सहायक चरित्रमा आउनुपर्ने आवश्यकता छ’ सम्म भनियो । लकडाउनपछि बक्सअफिसमा जुधिरहेको बलिउडलाई देखेर धेरै बहसमा सुपरस्टारवाला समय अब सकिएको कुरा पनि उठाइयो ।

यसको जवाफ ‘पठान’को एक दृश्यले मात्र दिन्छ । जसमा शाहरुख खान र सलमान खान छन् । स्क्रिनमा दुवै स्टार आएको तस्वीर र भिडियो, प्रोडक्सन हाउसले रोक्दा रोक्दै पनि सामाजिक सञ्जालमा निकै भाइरल भइसकेको छ । जसले फिल्म हेरेको छैन, उसले पनि यो दृश्यबाट मनोरञ्जन लिइरहेको छ । अर्थात फिल्ममा शाहरुख आफ्नो भूमिकाका लागि मात्रै ‘जिउँदा छन्’ भन्ने संवाद बोलिरहेका छैनन्, जबकि यो उनको स्टारडम, उनका फ्यानडमका लागि पनि हो ।

बलिउडको साथमा जनता

लकडाउनपछि तेलुगू, कन्नड र तालिम फिल्मको हिन्दी भर्सनले बक्सअफिसमा बलिउडलाई राम्रो टक्कर दियो । ‘ब्रह्मास्त्र’को रिलिजअघिसम्म त साउथ फिल्मबाट आइरहेको बक्सअफिसको सुनामीको जवाफ बलिउडसँग छैन भन्ने कुरा पनि उठेको थियो । साउथ फिल्म हिन्दी भाषी दर्शकको पनि पहिलो रोजाईमा छ भन्ने चर्चा थियो ।

‘पठान’ले तीन दिनमै सुपरस्टार र धमाकेदार स्क्रिन एक्सपीरियन्सको राम्रो कम्बिनेसनले सारा गणित बदल्न सकिन्छ भन्ने देखायो । अवस्था यो छ कि साउथमा पनि ‘पठान’को डबिङ भर्सन सीमित पर्दाका बाबजुद पनि राम्रो कमाई गरिरहेको छ । यसले जनता धमाकेदार फिल्मको साथमा छन् भन्ने कुराको पुष्टि गरेको छ । चाहे त्यो साउथबाट आएको होस् या बलिउडबाट । दर्शकहरु फिल्मलाई प्रेम र घृणाको नजरले नभई मनोरञ्जनको नजरले हेरिरहेका छन् प्रमाण ‘पठान’ले दिएको छ ।

मध्यम बजेट फिल्मको ओटीटी सहारा

‘पठान’को ठूलो सफलताले एउटा कुरा निश्चित यो भएको छ कि जनतालाई थिएटरमा ठूलो स्क्रिनमा धमाकेदार मसला चाहिएको छ । आयुष्मान खुराना जस्ता स्टारको मध्यम बजेटवाला सेगमेन्टले अब स्क्रिनमा केही संघर्ष गर्नुपर्नेछ । यो कुरा उनकै पछिल्लो फिल्म ‘एक्न एक्सन हिरो’ले देखाएको छ । जसको समीक्षा राम्रो थियो, तर कमाई चाहिँ धेरै कम ।

विस्तृतमा हेर्ने हो भने मामलामा ठूलो बजेटको नभई अनुभवको कुरा हो । अधिक संवाद, धमाकेदार एक्सन, ठूलो सेट र बढी खर्च भएको हिरो लकडाउनपछिको सिनेमा फ्लेभर हो । सटल फ्लेवरवाला रोमान्टिक कथा हालका लागि आउट अफ फेसन भइसकेको छ । अब दर्शक ग्राण्डलाई ब्राण्ड बनाउँदैछन् ।

बायकटको बायकट

कोभिड १९ को भाइरस विस्तारै विश्वबाट हराउँदै जाने अवस्थामा छ । तर, लकडाउनपछि एक भाइरसले बलिउडलाई छोड्ने मुड बनाएकै छैन । त्यो हो–वायकट भाइरस । लकडाउनपछि रिलिजका लागि तयार भएका हरेक फिल्मलाई लिएर सामाजिक सञ्जालमा बायकट अभियान चल्यो । आमिर खानको कमव्याक फिल्म ‘लाल सिंह चड्डा’को मामलामा यो सफल पनि देखियो । लकडाउनपछि सबैभन्दा ठूलो बलिउड हिट ‘ब्रह्मास्त्र’लाई पनि बायकट अभियानले थोरै असर गर्‍याे ।

‘पठान’को समयमा पनि दीपिकाको बिकिनीको रंगलाई लिएर विवाद भयो र फिल्मलाई बायकट अभियान चल्न थाल्यो । तर पहिलो दिन नै हिन्दी भर्सनमा भारतमा ५५ करोड रुपैंयाँ कमाएर फिल्मले यो अभियानलाई तगडा जवाफ दियो । फिल्मको कमाईमा यो बायकट अभियानले एक छेउ पनि असर गर्न सकेन । बरु ठीकविपरीत शाहरुख खानका फ्यान बायकट आव्हानपछि अझ बढी फिल्म हेर्न थिएटर पुगे ।

बक्सअफिसको ठूलो साइज

आमिर खानको ‘पीके’ले पहिलोपटक बलिउडलाई बक्सअफिसमा ३ सय करोडको आँँकडालाई सजिलै पार गर्न सकिन्छ भनेर देखायो । आमिरको २०१६ को फिल्म ‘दंगल’ ३ सय ८७ करोड कमाएर आजसम्म बलिउडको सर्वाधिक कमाउने फिल्मको उच्च स्थानमा छ । जबकी यी बीच ‘केजीएफ च्याप्टर २’ र ‘बाहुबली २’को हिन्दी भर्सन चार सय करोड र पाँच सय करोडभन्दा अगाडि पुगिसकेको छ ।

‘पठान’ ले तीन दिनमै १५० करोड पार गरिसकेको छ र पाँच दिनपछि साप्ताहिक कलेक्सन २ सय २५ करोडसम्म पुग्ने अनुमान गरिएको छ । विज्ञलाई भने फिल्मले ४ सय करोडको आँकडा पार गर्ने आशा छ । सोमबारको फिल्मको कमाईले यो सम्भावनाको टुंगो लगाउनेछ ।

यो वर्ष शाहरुख एक्लै ३ फिल्म लिएर आउँदैछन् । ‘पठान’ पछि उनको ‘जवान’ र ‘डंकी’ पनि रिलिज हुनेछ । सलमान खान ‘पठान’को केमियो पछि ‘भाई जान’ र ‘टाइगर ३’ जस्ता ठूला बजेटको फिल्म ल्याउँदैछन् । यी दुईका साथ सन् ९० को दशकदेखि नै स्टारडमको झण्डा बोकिरहेका अभिनेता अजय देवगन पनि ‘भोला’ र ‘मैदान’सँगै देखिँदैछन् । जबकी अक्षयसँग पनि ‘बडे मिया छोटे मिया’ जस्ता ठूलो एक्सन फिल्म छ ।

प्रतिक्रिया दिनुहोस