कक्षा पाँचसम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, १३ : २५
कक्षा पाँचसम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको छ ।यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्तक छपाइको जिम्मा निजीले पाउने भएका हुन् ।

मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन भन्दै केन्द्रले सूचना जारी गरेको हो ।

निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी बिक्री वितरण गर्नुपर्नेछ ।केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ ।

यसअघि सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको सरकारले जनाएको छ । तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ ।

गत कात्तिकमा कक्षा १–३ सम्मको छपाईको जिम्मा निजीलाई दिनेगरी प्रस्ताव केन्द्रले मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले त्यसलाई फिर्ता पठाइदिएको थियो । त्यसपछि केन्द्रले कक्षा १–५ सम्म नै छपाइको जिम्मा निजी क्षेत्रलाई दिने प्रस्ताव पुनः मन्त्रालयमा पठाएको थियो । सोही आधारमा मन्त्रालयले कक्षा ५ सम्मको छपाईको जिम्मा निजीलाई दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस