इमानको बाटोमा हिँड्न कार्यकर्तालाई ओलीको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, २० : २७
इमानको बाटोमा हिँड्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन्। एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताए। उनले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिनसमेत आग्रह गरे।

“हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो”, उनले भने, “हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।” एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए।

उनले भने, “कहिलेकहिले सत्य कमजोर देखिन सक्छ । एकछिन सत्य कमजोर देखिए पनि सत्य बलियो देखिन्छ ।” अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ता पार्टीको वास्तविक विचार, सङ्गठन, आचारणबाट अगाडि बढ्नुपर्ने भनाइ राखे। उनले पार्टीका कसैले भ्रष्टाचार गरेको खण्डमा सजाय भोग्नुपर्ने र त्यसमा पार्टीले केही गर्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस