वामपन्थी नेता खम्बासिंह र कवि सुमन पुरस्कृत

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०७५, १५ : ३२
वामपन्थी नेता खम्बासिंह र कवि सुमन पुरस्कृत

भरतपुर । शारदा स्मृति प्रतिष्ठानले २०७५ सालको ‘शारदा स्मृति पुरस्कार’ वरिष्ठ वामपन्थी व्यक्तित्व खम्बासिंह कुँवर (काजीबा)लाई प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै प्रतिष्ठानले नै प्रदान गर्दै आइरहेको ‘डिल्लीराम–धनसरा प्रतिभा पुरस्कार’२०७५ सालको लागि कवि सुमनराज श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

साँस्कृतिक शहीद शारदा श्रेष्ठको स्मृतिमा स्थापित प्रतिष्ठानको बुधबार बसेको बैठकले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको दुई पुरस्कार २०७५ सालको लागि कुँवर र श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

दशवर्षे जनयुद्धको दौरान सांस्कृतिक मोर्चामा रहेर काम गरेकी शहीद शारदा श्रेष्ठ २०६१ साल असार २९ गते तत्कालीन शाही सेनाको हिरासतमा रहँदा मारिएकी थिइन् । उनकै स्मृतिमा गठित प्रतिष्ठानले जनस्तरबाट रकम संकलन गरेर स्थापना गरेको स्मृति पुरस्कार यस वर्षको लागि चितवनका पुराना वामपन्थी नेता खम्बसिँह कुँवरलाई प्रदान गर्न लागिएको हो ।

कवि श्रेष्ठलाई प्रदान गर्न लागिएको डिल्लीराम–धनसरा प्रतिभा पुरस्कार भने वरिष्ठ प्रगतिवादी कवि पोषराज पौडेलले आफ्ना माता पिताको नाममा स्थापना गरेका हुन् ।

हाल प्रगतिशील लेखक सङ्घ, चितवन शाखाका अध्यक्ष समेत रहेका कवि सुमनराज श्रेष्ठको कविताकृति ‘सपनाहरूको ह्याङ्गओभर’ २०७१ सालमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस