सभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, ११ : ३५
सभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

काठमाडौं । सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको हो ।

बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् । यदि कांग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ । एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन् । 

कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यानदृष्टि दिएको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस