काँग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, १८ : ४७
काँग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ । आजबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उनका अनुसार, आजको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ । यो क्रम भोलि पनि जारी रहनेछ । भोलि दिउँसो १ बजे बैठक बस्ने महतले बताएका छन् ।

‘मूलभूत रूपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ बैठकपछि महतले भने ।

त्यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ । ‘बैठकमा जानुअघि समान धारणा विकसित होस् भनेर छलफल भइरहेको छ,’ महतले भने ।

प्रतिक्रिया दिनुहोस