राष्ट्रिय वाणिज्य बैंकको १२.५० प्रतिशत लाभांश पारित

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १८ : १६
राष्ट्रिय वाणिज्य बैंकको १२.५० प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५०% र बोनस शेयर ५%) सहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैंया नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैंया हुने छ । 

बैंक सञ्चालक  समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

प्रतिक्रिया दिनुहोस