सन्दीप लामिछानेको पुनरावेदन पेसीको आज सुनुवाइ हुँदै

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १२ : १२
सन्दीप लामिछानेको पुनरावेदन पेसीको आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । 

यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन । दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भइसकेको छ । अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्ने छैन ।  इजलासबाट सुनुवाइ हेर्न नभ्याइएको खण्डमा फेरी पनि पेसी स्थगित हुन सक्छ । 

सन्दीपविरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीको मुद्दा चलिरहेको छ । गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।