बार्सिलोनाको शीर्ष स्थानमा अग्रता

एजेन्सी

सोमबार, २५ पुस २०७९, ०६ : ५०
बार्सिलोनाको शीर्ष  स्थानमा अग्रता

एजेन्सी । एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । खेलमा ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।


गाभीको पासमा खेलको २२ औँ मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनको प्रहार पोस्टमा लागेको थियो । इन्जुरी समयमा एट्लेटिकोले खेल बराबरी गर्ने अवसर पाए पनि एन्टोनी ग्रिजमानको प्रहार रोनाल्ड आराउजोले गोललाइनबाट बचाएका थिए ।


खेलको अन्त्यमा स्टेफन साभिच र फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएको थियो । जीतसँगै बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको छ । शनिबार पराजित भएको रियले ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । एट्लेटिको भने २७ अंकसहित पाँचौँ स्थानमा खस्किएको छ । 


आइतबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई २–१ गोलअन्तरले हरायो भने रियल बेटिसले रायो भायोकानोलाई समान अन्तरले पराजित गर्‍यो ।