थप दुई आयोजनाको बिजुली निर्यात गर्न प्राधिकरणले पायो अनुमति

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, ०४ : १०
थप दुई आयोजनाको बिजुली निर्यात गर्न प्राधिकरणले पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले थप २ वटा आयोजनाबाट उत्पादित बिजुली निर्यातको अनुमति पाएको छ । भारतले काबेली बीवान आयोजना र तल्लो मोदीबाट उत्पादित बिजुली निर्यातको अनुमति दिएको हो ।

प्राधिकरणले दिएको जानकारीअनुसार यससँगै नेपालले भारततर्फ कूल ४५२.६ मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यसअघि प्राधिकरणले भारततर्फ ४०८.९५ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो ।

नेपालले गत आर्थिक वर्षदेखि भारततर्फ बिजुली निर्यातको अनुमति पाएको थियो । गत आर्थिक वर्षको सुरूवातमा नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यात भएको थियो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादन सुरू भएपछि नेपालले भारततर्फ निर्यात सुरू गरेको थियो । तर, माथिल्लो तामाकोसी आयोजनाको ठेक्का चिनियाँ कम्पनीले पाएको भन्दै उक्त आयोजनाबाट उत्पादित बिजुली भारतले किन्न मानिरहेको छैन । यद्यपी, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारततर्फ थप ३०० मेगावाट बिजुली निर्यातको सहमति गरेर फर्किएका थिए । त्यससँगै, नेपालले भारततर्फ ३६५ मेगावाट बिजुली निर्यात सुरू गरेको थियो ।

यस्तै, भारतले यही वर्ष थप बिजुली निर्यातको अनुमति दिएसँगै नेपालबाट कूल ४०८ मेगावाट बिजुली निर्यात अनुमति पाएको थियो । यससँगै, यो वर्ष नेपालले ११ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरिकेको छ । प्राधिकरणले दिएको जानकारीअनुसार पुस ३ गतेसम्मको अवधिमा नेपालले ११ अर्ब १६ करोडको बिजुली निर्यात गरिसकेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको हो । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ । सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो ।

त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालू आव २०७९÷८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस