महेन्द्र राय यादवले आज शपथ लिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, ०८ : ०८
महेन्द्र राय यादवले आज शपथ लिने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले शुक्रबार मात्र शपथ गराउन लागेको हो । 

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन् । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन् । 

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई  शपथ लिन अनुपस्थित थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस